
काठमाडौं । गृह मन्त्रालयले चुनावमा सुरक्षा निकायका लागि आवश्यक पर्ने गाडी खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि आवश्यक गाडी तथा सामग्री खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको गृह मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयबाट बजेट तथा स्रोत अनुमति उपलब्ध भएपछि जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका गाडीको विकल्पका रूपमा नयाँ खरिद प्रक्रिया शुरू गरिएको गृहले जनाएको छ ।
चुनाव सुरक्षामा खलल नपरोस् भन्ने उद्देश्यले सबै गाडीहरु चुनावअघि नै उपलब्ध गराइनेछ । नियमित बजेट र थप स्वीकृत स्रोतसहित नेपाल प्रहरीले झन्डै ८० करोड ४१ लाख रुपैयाँ बराबरका गाडी खरिद गर्दैछ ।
जसमा ७५ वटा पिकअप, १ प्रिजनर भ्यान, २८ वटा कार्यालय प्रयोजनका गाडी, ४१ विद्युतीय गाडीहरु र १० वटा एस्कर्ट पिकअप छन् । सशस्त्र प्रहरीका लागि अर्थ मन्त्रालयले ५९ वटा गाडीहरु, ३ वटा विपद् उद्धार गाडी, ५० बोलेरो जीप, ३ वटा दङ्गा नियन्त्रण ट्रक र २ वटा एम्बुलेन्स खरिदका लागि अनुमति दिएको छ । त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका लागि ६ चारपाङ्ग्रे गाडी खरिद गर्न २ करोड ८० रुपैयाँ स्वीकृत भएको छ ।
जेनजी आन्दोलनका कारण देशभर ४६५ प्रहरी कार्यालयमध्ये ४४९ फेरी सञ्चालनमा आइसकेका छन् र बाँकी १६ पनि अन्तिम मर्मतमा छन् । आन्दोलनका क्रममा ५७१ प्रहरी गाडी, सशस्त्र प्रहरीका ६१ गाडी र अनुसन्धान विभागका ११ चारपाङ्ग्रे तथा ३० मोटरसाइकल क्षतिग्रस्त भएका थिए ।
दुई भवनसहित तीन जिल्ला कार्यालयमा पनि क्षति पुगेको थियो । यी क्षतिको अनुमानित लागत गाडी ८ करोड ९० लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।


