
झापा । पछिल्ला दिनहरुमा मतदाता बन्न योग्य उमेर समूहको सक्रियताका कारण मंसिर ५ गतेसम्म तोकिएको मतदाता नामावलीमा नाम दर्ता गर्ने झापालीको संख्या ३५ हजार ३१९ जना थपिएको छ । अब झापाको मतदाता संख्या ७ लाख १४ हजार ५९५ पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
फागुन २१ का लागि निर्वाचनको मिति घोषणापछि ३५ हजार ३१९ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिनुभएको हो । कार्यालय प्रमुख नेपालका अनुसार बायोमेट्रिक मार्फत ११ हजार ७३३ र राष्ट्रिय परिचयपत्र मार्फत २३ हजार ५८६ जना नयाँ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मंसिर ५ गते रातिदेखि सकिएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि देशभर ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।
फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या थप बढेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको संख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।
यसअघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।


