
खोटाङ । खोटाङ कारागार करिब एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन रहेको पाइएको छ । कारागारमा कार्यरत अहेब गत वर्ष पुसमा काजमा अन्तै गएको र हालसम्म फिर्ता नआएको बताइएको छ ।
१ सय ४० जना कैदीबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या हुने गरेको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताउनुभयो । आधारभूत उपचारका लागि कैदीबन्दीलाई जिल्ला अस्पताल लानु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
कारागारमै स्वास्थ्यकर्मी राखेर आधारभूत स्वास्थ्य उपचार गराउनु पर्ने व्यवस्था भएपनि स्वास्थ्यकर्मी अभावले एक वर्षदेखि जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता छ ।
कारागारमा सवारी साधन नहुँदा बिरामी कैदीबन्दीलाई गाडी भाडामा लिएर करिब ६ किलोमिटर टाढा जिल्ला अस्पताल दिक्तेलमा लगिँदै आएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
हाल कारागारमा ३ जना महिला र १३७ जना पुरुष गरी १४० जना कैदीबन्दी रहेका छन् । कारागारमा स्वास्थ्यकर्मी नहुँदा अत्यन्तै समस्या हुने गरेको उहाँको भनाइ छ ।
यस्तै, कारागारको गाडी नहुँदा बिरामी कैदीबन्दीलाई अस्पतालसम्म भाडामा गाडी लिएर लाने गरिएको छ । तर अन्य कैदीबन्दीलाई अदालतमा लाने क्रममा भने हिँडाउँदै लानु पर्ने बाध्यता खोटाङ कारागारलाई रहेको छ ।
कारागारबाट जिल्ला अदालत करिब ६ किलोमिटर टाढा छ । हतकडी लगाएर बाटोमा कैदीबन्दी हिँडाउँदा भाग्न सक्ने वा कसैबाट आक्रमण हुन सक्ने जोखिम अत्यन्तै रहेको कारागार प्रमुख श्रेष्ठले बताउनुभयो ।
जिल्ला सदरमुकाम दिक्तेल बजारको बिचबाट कैदीबन्दीलाई हतकडी लगाएर हिँडाउने पर्ने अवस्था रहेकाले उनीहरूको गोपनीयता सम्बन्धित अधिकारको पनि हनन भइरहेको उहाँको भनाइ छ ।
“कारागारमा आएका कैदीबन्दीहरू सबै दोषीनै हुन भन्ने हुँदैन, अदालतले निदोर्ष पनि प्रमाणित गर्न सक्छ । तर, अदालती प्रक्रियामा लैजादा गाडी अभावले हतकडी लगाएर उनीहरूलाई बिच बजारबाट हिँडाउनु पर्ने बाध्यता छ । उनीहरूको गोपनीयताको अधिकार हनन भइरहेको छ ।” कारागार प्रमुख श्रेष्ठले भन्नुभयो, “हिँडाएर अदालत लान ल्याउन पनि अत्यन्तै जोखिम छ । बाटैमा कैदीबन्दी भाग्न सक्ने वा उसलाई विपक्षीबाट आक्रमण हुन सक्ने जोखिम रहेको छ ।”
यसैगरी, कारागारमा वैकल्पिक बत्ती नहुँदा सुरक्षामा जोखिम हुने गरेको पाइएको छ । पहाडी जिल्ला खोटाङममा बेलाबेलामा विद्युत् जाने गरेको छ । विद्युत् गएको समयमा कारागार अन्धकार हुने भएकाले सुरक्षामा जोखिम रहेको कारागार प्रशासनले जनाएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समयमा वैकल्पिक बत्तिको अत्यन्तै आवश्यकता खड्किएको कारागार प्रमुख श्रेष्ठले बताउनुभयो । उक्त समयमा विद्युत् नहुँदा कारागार अन्धकार रहेको थियो । देशका धेरै कारागारबाट कैदीबन्दी फरार भइरहेका थिए ।
सोही समयमा जिल्ला कारागार खोटाङ अन्धकारहुँदा सुरक्षामा चुनौती थपिएको श्रेष्ठले बताउनुभयो । तर, कैदीबन्दी अनुशासनमा बसेकाले कुनै घटना भने नभएको उहाँको भनाइ छ ।
कहिलेकाँही घण्टौँ विद्युत् जाने गरेको कारण सौर्य उर्जा सोलार अर्थात कुनै वैकल्पिक बत्तीको व्यवस्था हुनु पर्ने कारागार प्रशासनको माग रहेको छ । यस्तै, कारागार क्षेत्रमा अर्थिङ नहुँदा विद्युतको मिटर र कारागारमा जडान गरिएको सिसिक्यामेरामा बारमबार क्षेति हुने गरेको पाइएको छ । तत्काल बर्थिङ नगरे क्षति थप बढ्ने देखिएको छ ।
माटो खारेर कारागार भवनहरू निर्माण गरिएकाले हरेक वर्ष जोखिम बढ्दै गएको पाइएको छ । जमिन भासिने र भवन चर्किने क्रम निरन्तर रहेकाले कारागार अन्य ठाउँमा सार्नु पर्ने अवस्था आउन सक्ने देखिएको छ ।
कारागारको तल्लो पट्टिको भाग भासिएर वाल भत्किएको छ । कैदीबन्दी बस्ने भवन वरिपरीको पर्खाल ठाउँ ठाउँमा चर्किएको छ । २०७२ सालको जतिकै भुकम्प गएमा भत्किने सम्भावन रहेको कारागार प्रमुख श्रेष्ठले बताउनुभयो ।


