२०८२ मंसिर ३, मङ्गलवार , ११:४६:२३ बजे

Sajhamanch
'

निर्वाचन आयोगको प्रष्टीकरण : वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच छैन

मङ्गलवार, मंसिर ३, २०८२

काठमाडौं । निर्वाचन आयोगले वेबसाइट तथा मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच नरहेको प्रष्टीकरण दिएको छ ।

यो विषयमा सार्वजनिक रुपमा चासो व्यक्त भएको भन्दै आयोगले विज्ञप्ति नै निकालेर यस्तो प्रष्टीकरण दिएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ ।’

निर्वाचन आयोगको वेवसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दावीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि आयोगले जनाएको छ ।

नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको भनिएको छ । यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्वन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेको आयोगको भनाइ छ ।

सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू भएको भनिएको छ । त्यसमा नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश भएका छैनन् ।

यस सम्बन्धमा प्रकाशन एवं प्रसारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामग्रीहरूमा विश्वास नगर्न पनि आयोगले सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

सम्बन्धित खबर