२०८२ मंसिर ३, मङ्गलवार , ०७:५९:०२ बजे

Sajhamanch
'

अभियन्ता दुर्गा प्रसाई फेरि मध्यरातमा पक्राउ

मङ्गलवार, मंसिर ३, २०८२

काठमाडौँ । मेडिकल व्यवसायको सुरुवात गरी चर्चा कमाएर पछिल्लो समय उग्र गैरराजनीतिक व्यवहार प्रस्तुत गर्दै आएका झापाका दुर्गा प्रसाईंं गएराति प्रकाउ परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ ।

आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका हुन् ।

प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’ मा राखेको थियो ।

केही दिनअघि गृह मन्त्रालयमा प्रसाईं समूहका तर्फबाट २६ बुँदे माग पत्र लिएर माधव खतिवडा गृह मन्त्रालयमा वार्ताका लागिसमेत पुगेका थिए ।

प्रसाईं यसअघि दुई पटक साइबर कसुरसम्बन्धी र चैत १५, २०८१ को घटनाका मुख्य प्रतिवादी हुन् । उनी तीनै वटा मुद्दामा धरौटीमा छुटेका अभियुक्त हुन् ।

सरकारले दुर्गा प्रसाईंसहित अराजक अभिव्यक्ति दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाउन सक्ने संकेत दिएको थियो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको सुरक्षा समितिको बैठकमा परिस्थिति भड्काउने गरी विभिन्न व्यक्तिबाट सार्वजनिक अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्नेबारे छलफल भएको थियो ।

निर्वाचनको सुरक्षा तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा सुरक्षा प्रमुखहरूले अराजक अभिव्यक्तिबारे पनि छलफल गर्नुपर्ने भन्दै प्रसंग निकालेका थिए । बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो ।

बैठकमा सहभागी स्रोतका अनुसार बैठकमा दुर्गा प्रसाईंको नामै लिएर छलफल भएको थियो । उनले हिजोमात्र पत्रकार सम्मेलन गरी जेन–जीको नाममा हिंसा भड्काउन विभिन्न समयमा विविध स्थानमा भएका तयारी बैठकको दावी भिडियो सार्वजनिक गरेका थिए ।

सम्बन्धित खबर