
सुनसरी । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुनसरीमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सक्रिय रूपमा भइरहेको छ।
जिल्ला निर्वाचन कार्यालय इनरुवामा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भएको छ।
उहाँका अनुसार सोमबार सम्म ११ हजार ५६ जनाको नामावली संकलन भइसकेको छ भने ५ दिन थपिएको अवधिभित्र अझै ठूलो संख्यामा मतदाता सूचीमा नाम दर्ता हुने अपेक्षा गरिएको छ।
सुनसरीमा १२ वटा स्थानीय तह रहेका छन् र ती सबै ठाउँमा मतदाता अपडेट अभियानलाई सहज बनाउन निर्वाचन कार्यालयले आवश्यक समन्वय गरिरहेको पौडेलले बताउनु भयो।
स्थानीय तह तथा वडा कार्यालयमार्फत नागरिकलाई नामावली संकलनमा सहभागी हुन निरन्तर सूचना प्रवाह गरिएको छ। पौडेलका अनुसार वडा–वडामा जनचेतना कार्यक्रम, सूचना टाँस, सामाजिक सञ्जाल तथा स्थानीय एफएम मार्फत मतदाता सूचीमा नाम समावेश गराउन सर्वसाधारणलाई आह्वान गरिएको छ।
यसैबीच आगामी निर्वाचनलाई दृष्टिगत गर्दै जिल्लामा १६७ वटा मतदानस्थल छानिएको छ। निर्वाचन आयोगले भौगोलिक अवस्था, जनघनत्व, पहुँच, सुरक्षा स्थिति तथा मतदाताको संख्या हेरेर स्थल निर्धारण गरेको छ।
सुनसरीमा यश अगाडी १६६ मात्रै मतदान स्थल थिए। हाल धरान–११ मा थप एक मतदान स्थल तोकिएको छ। जनसंख्या तथा मतदाता वृद्धि भएको क्षेत्र भएकाले धरान–११ मा सुविधाजनक र भीड व्यवस्थापनका लागि नयाँ स्थल आवश्यक ठहरिएको निर्वाचन कार्यालयले जनाएको छ।
मतदाता नामावली संकलन अन्तिम चरणतर्फ अघि बढेसँगै जिल्लाभर चहलपहल बढेको छ। युवा, नयाँ बसाइँ सराइ गरेका नागरिक तथा पहिलो पटक मतदान अधिकार प्रयोग गर्न चाहनेहरूको उपस्थिति उल्लेख्य रहेको छ। सुनसरीमा रहेको १२ स्थानीय तह तथा सबै १६७ मतदान स्थलमा निर्वाचन तयारी सुचारु भएको जनाइएको छ। निर्वाचन कार्यालयका प्रमुख पौडेलले निर्वाचन सहज, स्वच्छ र व्यवस्थापनयुक्त बनाउन सम्पूर्ण प्रशासनिक तथा प्राविधिक तयारी तीव्र पारिएको बताउनु भयो।


