
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापिट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हस्तान्तरण गरिएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो । शहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले हिजो साँझ ‘फ्लड लाइट’को ‘स्विच’ थिचेर क्यानलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले त्रिवि क्रिकेट रङ्गशाला नेपालमा चाँडोभन्दा चाँडोे सम्पन्न भएको योजना हुन पुगेको बताउनुभयो । उहाँले सरकारबाट दोस्रो चरणको स्तरोन्नतिका लागि १० अर्ब रुपैयाँको गुरुयोजना र ठेक्का प्रक्रियाका लागि स्वीकृति दिइसकेको जानकारी दिनुभयो ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि रङ्गशालामा नेपाली क्रिकेटप्रेमीको नेपालमा नै अन्तर्राष्ट्रिय क्रिकेट हेर्ने सपना पूरा हुने कामको शुरूआत भएको बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलप्रेमी नेपालीको सपना पूरा भएको बताउँदै अब दोस्रो चरणका संरचना निर्माण गर्न उत्तिकै प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभयो । देशका अन्य भागमा पनि एनपीएल जस्ता खेल आयोजना गर्न सक्ने संरचना बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले कीर्तिपुरको आँगनमा अन्तर्राष्ट्रिय खेल हुनु समग्र कीर्तिपुरवासीकै गौरवको विषय भएको बताउनुभयो । कार्यक्रममा निर्माणमा महत्त्वपूर्ण योगदानकर्तालाई मन्त्री घिसिङले सम्मानित गर्नुभएको थियो ।
देशमा नै पहिलोपटक आधुनिक प्यारापिट र ६ वटा फ्लड लाइटसहित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रङ्गशाला एनपीएलको दोस्रो संस्करणको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयले हस्तान्तरण गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको आन्तरिक खेल मैदानका रुपमा रहेको मैदान २०५५ सालदेखि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रुपमा विकास गर्ने काम शुरू भएको हो ।
देशमा क्रिकेट खेलको मोह बढ्दै गएपछि पूर्ववर्ती केपी शर्मा ओली सरकारले गएको २०८१ साल मङ्सिरमा मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा त्रिवि क्रिकेट रङ्गशालालाई प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रङ्गशालामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।
यसअन्तर्गत पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र रात्रिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी ६ फ्लड लाइट जडान गरिएका हुन् । सरकारले बनाएको गुरुयोजनाअनुसार दोस्रो चरणमा कुल २५ हजार दर्शक अट्ने तथा अन्तर्राष्ट्रियस्तरका सबै आधुनिक क्रिकेट सुविधासहितको रङ्गशाला बनाइने छ ।


