
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु गरिएको छ ।
बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तयारीका लागि सरोकार भएका निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ ।
दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट पर्सि मङ्गलवार रातभर दीप प्रज्वलन गरी बुधकारका दिन शतबीजारोपणलाई व्यवस्थित रूपमा गर्न तयारी शुरु गरिएको हो । हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ ।
मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीप प्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुन सक्ने अन्य ठाउँसमेत कोषले निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन दिइएको निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो ।
मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुङ्गा छापेको, पीच गरेको ठाउँमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको छ । साथै जाडँरक्सी एवम् नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ ।
यसको अनुगमनका लागि कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महङ्गा र भड्किला गरगहना एवम् छालाका जुत्ता–चप्पल नलगाउन पनि आग्रह गरिएको छ ।
कोषका अनुसार प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था र पर्याप्त बत्तीको व्यवस्था समेत गरिएको गरिएको कोषले जनाएको छ ।


