
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पर्याप्त मात्रामा उत्पादन नहुने १०० भन्दा बढी वस्तुमा कर हटाएका छन्। जीवनयापन खर्च बढ्दै गएपछि मूल्य नियन्त्रणका लागि सरकारले कर फिर्ता लिएको ह्वाइट हाउसले जनाएको छ।
यस्ता वस्तुमा कफी, केरा, एभोकाडो, मासु लगायत सयभन्दा बढी खाद्यवस्तु छन्। ट्रम्प प्रशासनले पछिल्ला कर छुटहरू १३ नोभेम्बरको मध्यरातिदेखि नै कार्यान्वयनमा आएको बताएको छ। खाद्यवस्तुको मूल्यमा परेको दबाब र उपभोक्ताको असन्तुष्टिलाई ध्यान दिँदै, सरकारले मूल्य कम गर्ने उद्देश्यले भन्सार घटाएको हो। बीफको बढ्दो मूल्य र किराना सामानको महँगोदर पछिल्लो समय राजनीतिक मुद्दा बनेको थियो।
राष्ट्रपति ट्रम्पले मासु उद्योगमा मूल्य हेरफेर भएको आरोप लगाउँदै छानबिनको माग समेत गरेका थिए। उता कफी र केरामा लगाइने अतिरिक्त कर पनि ल्याटिन अमेरिकी चार देशसँगका व्यापार सम्झौताअनुसार घटाइने जनाइएको छ । राष्ट्रपति ट्रम्प र अर्थमन्त्री स्कट बेसन्टले अमेरिकामा कफीको मूल्य यस वर्ष २० प्रतिशतले घटाइने दाबी गरेका छन्।एजेन्सी


