
झापा । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्ने बताउनु भएको छ। असंवैधानिक प्रक्रियाबाट संसद् विघटन भएकोले पुनर्स्थापना हुनै पर्ने घिमिरेको भनाइ छ ।
शुक्रबार बिहान झापा बिर्तामोडस्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको मुद्दालाई चाँडो छलफलमा लैजानुपर्ने बताउनु भयो । कानुनी, व्यवहारिक र आवश्यकताका हिसाबले संसद् पुनर्स्थापना हुने सभामुख घिमिरेको विश्वास छ ।
जननिर्वाचित संस्था प्रतिनिधिसभा भंग गरेपछि मुलुक थप संकटमा धकेलिएको घिमिरेको भनाई छ । ‘संसद् पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ’, उहाँले भन्नुभया– ‘जेनजीहरुको माग सम्बोधन गर्ने बाटो पनि यहि हो ।’
संविधानका संशोधन गर्नुपर्ने विषयहरू छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने भन्दै घिमिरेले वर्तमान सरकारको प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताउनु भयो ।
बिहीबार झापा आएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास आयोजनाहरूको अनुगमन गर्नु भएको छ। गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गर्नु भएको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमणि, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरू अनुगमन गरेको सचिवालयका हिमाल मैनालीले जानकारी दिनुभयो ।


