
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाएको कांग्रेसले जनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन,पार्टीको महाधिवेशनमा जारी विवादलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
महाधिवेशनलाई लिएर नेताहरू विभाजित भएका छन्। आजको बैठकमा चुनावअघि महाधिवेशन गर्नेगरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा टुंगो लगाइने जनाइएको छ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा टुंगो लगाउन गत असोज २८ गतेबाट जारी केन्द्रीय समिति बैठकमा पदाधिकारी तथा सदस्यहरूले बोल्ने क्रम बिहीबार सकिएको छ। तर महाधिवेशनकै विषयमा भने टुंगो लागिसकेको छैन।
महामन्त्री थापा र विश्वप्रकाश शर्मा पक्षधर समूहले पुसभित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। तर पार्टीको संस्थापन पक्ष भने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताइरहेको छ।
यसबीच विशेष महाधिवेशन पक्षधरहरूले आज युवा भेला आह्वान गरेका छन्। विशेष महाधिवेशनका लागि ५४ प्रतिशत हस्ताक्षर संकलन भइसकेकाले दबाब दिन युवा भेला आह्वान गरिएको उनीहरूको भनाइ छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै नेता र पक्षसँग छलफल गरेर सहमतिबाटै महाधिवेशनको मिति टुंगो लगाउने बताएका छन्।


