
भक्तपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ ।
भदौ २३ र २४ गतेको विध्वंस्सबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिवद्धता खोज्न नहुने उहाँले बताउनुभयो ।
नेकपा एमाले झापाका अगुवा कार्यकर्ताहरुलाई बिहिबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैंमा हास्यास्पद भएको बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको तर नेताहरुलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताउनु भयो ।
‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरुलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने’ अध्यक्ष ओलीले सरकारप्रति आक्रोस पोख्दै भन्नुभयो ‘राजनीतिक दल र नेताहरुलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?’

अध्यक्ष ओलीले एमाले माथि जेन-जीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता,राष्ट्रहित,विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको बताउनुभयो । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिती गठन गरिरहेको बताउनुभयो । यस्ता सुरक्षा समितीले अपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरुलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले गैह्र संवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधि सभाको पुन:स्थापना लागि एमालेले ब्यापक दबाब सृजना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले प्रतिनिधि सभाको पुनस्र्थापना मार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने बताउनुभएको छ ।

बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भब्य रुपमा आयोजना गर्न निर्देशन दिनुभएको छ । उहाँले केन्द्रीय स्तरको जनपरिचालन कार्यक्रम सकिए पनि जिल्लाले अलग्गै आन्दोलनका कार्यक्रम बनाएर निरन्तरता दिन पनि निर्देशन दिनुभएको छ ।
बैठकमा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गीरीले भदौ २३/२४ को विध्वंस्स,आगजनी, र तोडफोडपछिको अवस्थाका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनु भएको थियो ।


