२०८२ कार्तिक २८, बिहिवार , १०:१६:१३ बजे

Sajhamanch
'

अमेरिकी शटडाउन अन्त्य गर्ने विधेयक संसदबाट पास

बिहिवार, कार्तिक २८, २०८२

अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी कामकाज बन्द (शटडाउन) अन्त्यको बाटो खुलेको छ । प्रतिनिधि सभाले त्यससम्बन्धी सहमतिको विधेयक बहुमतले पारित गरेपछि शटडाउन अन्त्यको बाटो खुलेको हो ।

प्रतिनिधि सभामा भएको भोटिङमा शटडाउन अन्त्य गर्ने पक्षमा २२२ र विपक्षमा २०९ मत परेको रोयटर्सले जनाएको छ । दुई सांसद अनुपस्थित रहेका थिए । ह्वाइट हाउसका अनुसार अब राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेपछि औपचारिक कार्यान्वयनमा जाने छ ।लामो समयसम्म भएको शटडाउन पछिको अस्तव्यस्तता सामान्य अवस्थामा फर्किन भने अझै केही दिन लाग्नसक्ने अनुमान गरिएको छ ।किनभने करिब १२.५ लाख संघीय कर्मचारीले अक्टोबर १ देखि तलब पाएका छैनन् । हजारौं उडानहरू रद्द गरिएका छन् र यो क्रम यस हप्तासम्म पनि जारी रहने अनुमान छ ।खाद्य सहायता पाउने कतिपय लाभग्राहीहरूको सेवा र ठेक्कापट्टाको प्रक्रिया पनि अवरुद्ध भएको छ । यसले पहिले नै कमजोर अर्थतन्त्रमा ठूलो असर पार्ने अनुमान छ ।संसदबाट पास भएको कानुनले संघीय सरकारका कामहरू पुनस् सुरु गर्ने भए पनि विपक्षी दलले माग गरेको स्वास्थ्य बीमा सम्बन्धी रकम यसमा समावेश नगरिएको द गार्जिएनले जनाएको छ ।

‘यो सम्झौताले सरकारका नियमित कामहरू जनवरीसम्मका लागि सामान्य बनाउने बाटो खोलेको छ, तर अफोर्डेबल केयर एक्ट (ओबामाकेयर) अन्तर्गतका स्वास्थ्य बीमा योजनाका कर छुट विस्तार गर्ने विषय भने अझै समाधान भएको छैन । अधिकांश डेमोक्र्याट सांसदहरूले सरकार पुनस् खोल्ने कुनै पनि सम्झौतामा ती छुटहरू निरन्तर गर्न माग गरेका थिए,’ द गार्जिएनले लेखेको छ ।

एजेन्सी

सम्बन्धित खबर