
विराटनगर । कोशी प्रदेशको एकमात्र महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको देखिएको छ ।
मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षाअनुसार १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पर्न सफल भएको हो ।
जबकी, अघिल्लो आर्थिक वर्षमा पाँचौं स्थानमा रहेको थियो । विराटनगर महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कमा पाँचौँ स्थानमा हुनभन्दा अघि विराटनगर १६ औं स्थानमा थियो ।
पछिल्लो ६ महिनामा गरेको कार्य प्रगतिका कारण महानगरले महत्वपूर्ण उपलब्धि हासिल गरेको स्वास्थ्य महाशाखाका प्रमुख डा। दिलीपकुमार यादवले बताउनुभयो । ‘अघिल्लो आर्थिक वर्षभन्दा हामी निकै राम्रो अवस्थामा आइपुगेका छौं’ उहाँले भन्नुभयो, ‘हामीले आगामी दिनमा केही मेहनत थप्यौं भने अझै राम्रो गर्न सक्छौं । अबको लक्ष्य पहिलो हुने हो ।’
महानगरको कुशल नेतृत्व र टिमवर्कका कारण महानगरले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्न सकेको जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताउनुभयो । कार्कीका अनुसार स्वास्थ्यका ४८ वटा विभिन्न सूचकबाट मूल्याङ्कनका आधारमा स्थान तय गरिन्छ । कार्कीले चालु आर्थिक वर्षमा पहिलो नम्बरमा पर्ने लक्ष्यसहित कार्य गरिरहेको जानकारी दिनुभयो ।


