२०८२ कार्तिक २६, मङ्गलवार , ०१:३१:४९ बजे

Sajhamanch
'

आज पुष्य नक्षत्रका दिन ५ वर्षसम्मका बालबालिकालाई स्वर्णप्रासन खुवाईंदै

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । आज पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णप्रासन खुवाईंदैछ । बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णभस्मयुक्त औषधि खुवाउने अभियान सञ्चालन गरेको हो ।

बालबालिकालाई हरेक २८ दिनमा पर्न आउने पुष्य नक्षत्रमा स्वर्णप्रासन खुवाउने मान्यता छ । पूर्वीय ज्योतिषशास्त्र र आयुर्वेदले पुष्य नक्षत्रलाई उर्वरता र पोषणसँग सम्बन्धित मानेको छ ।

शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर देशभरिका २५ वटा आयुर्वेदिक केन्द्रहरूबाट महिनैपिच्छे यो औषधि निःशुल्क वितरण गरिँदै आएको छ ।

रुघाखोकी, ज्वरोलगायतको समस्या भएको बच्चाबाहेक अरूलाई स्वर्णप्रासन खुवाउन सकिने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । रुघाखोकी, ज्वरो आएकालाई खुवाउँदा खोकीलाई झन् बढाउँछ कि भनेर नखुवाउन भनिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा। श्याम बाबु यादवले बताउनुभएको छ ।

उहाँका अनुसार स्वर्णबिन्दुप्रासन सुनको भष्ममा घिउ र मह मिसाएर बनेको र परम्परागत रूपमा प्रयोग हुँदै आएको छ । यसको वैज्ञानिक पुष्टि समेत भइसकेको र विभिन्न ठाँउमा नमुना परिक्षण समेत भइसकेकाले सरकारले यो वर्षदेखि लागू गरेको विभागले जनाएको छ । यो कार्यक्रम २५ जिल्लामा लागू गर्नु अघि नेपालका तीन वटा जिल्ला दाङ, चितवन र पर्सामा नमुना कार्यक्रमको रुपमा सञ्चालन गरिएको थियो ।

मङ्गलवार, कार्तिक २६, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर