२०८२ कार्तिक २६, मङ्गलवार , ११:३५:११ बजे

Sajhamanch
'

व्यक्तिगत घटनाका विवरणमा त्रुटि भएमा एकपटकलाई सच्याउन बाटो खुल्यो

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । नाम, जन्ममिति, विवाह दर्ता, बसाईँसराईसहित व्यक्तिगत घटनाका विवरणमा त्रुटि भएमा एकपटकलाई सच्याउन पाउने गरी बाटो खुलेको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय गरेसँगै नाम, जन्ममिति, विवाह दर्तालगायतका विवरण सच्याउन पाउने बाटो खुलेको हो ।

यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा थप प्रष्टता नभएकाले सहजीकरण गर्ने सन्दर्भमा नियमावली संशोधन गरिएको हो ।

अब व्यक्तिको नाम, ठेगाना, विवाह दर्ता, सम्बन्ध विच्छेद, मृत्यु जस्ता व्यक्तिगत घटना दर्ताबारे विवरणमा त्रुटि भएको खण्डमा एकपटकलाई संशोधन गर्न पाउने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सानुबाबु अधिकारीले जानकारी दिनुभयो ।

यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा एक वर्षभित्र सच्याउनुपर्ने बन्देजका कारण असहज भएकोमा यसलाई फुकुवा गरेको निर्देशक अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

अब समयअवधिको बन्देज नभए पनि एक पटक मात्रै संशोधन गर्न सकिनेछ । मन्त्रिपरिषद्ले नियमावली संशोधन गरिसकेकाले अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन शुरु हुनेछ । व्यक्तिगत घटना विवरण दर्ता गर्न वा सच्याउने काम हरेक वडा कार्यालयका वडासचिवमार्फत् गर्न सकिनेछ ।

मङ्गलवार, कार्तिक २६, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर