
काठमाडौँ । नेकपा (एमाले)को जनपरिचालन कार्यक्रम अन्तरगत आज देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गर्दैछ । सं
सद् विघटनलाई प्रतिगामी षडयन्त्र भनेको एमालेले त्यसका विरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२ गते देशका सबै ६ हजार ७४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका छन् ।
उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसद्को गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरूलाई प्रस्ट पारिएको छ ।
गौतमले दिएको जानकारी अनुसार आजको कार्यक्रममा कतिपय पालिकाहरूले मोटरसाइकल र्याली मार्फत एमालेले शक्ति प्रदर्शन गर्दैछ भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुस सहितका कार्यक्रम राखिएको छ । कार्यक्रममा जनतालाई जगाउने नाराहरू पार्टी केन्द्रले तय गरेको छ ।
प्रदर्शनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झन्डा सहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रदर्शन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरूलाई एमालेले निर्देशन गरेको छ ।
जनप्रदर्शनका तस्बिर,भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा शेयर गर्न र सञ्चार माध्यमहरूमा पठाउन पनि एमालेले यस अघि नै निर्देशन गरेको छ ।
आजको जनप्रदर्शन सकेपछि कात्तिक २९ गते जिल्लास्तरीय आमसभा,मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रूपमा पनि रहने एमालेले जनाएको छ ।


