
काठमाडौं । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ ।
चुनावलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी बनाउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले परामर्श गरेको आयोगले जनाएको छ ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भइ आउँदो फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनाव तोकिएको छ । यस्तै १९ सदस्य पदका लागि आउँदो माघ ११ गते राष्ट्रियसभाको चुनाव हुँदैछ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा आयोगको केन्द्रीय कार्यालयमा भएको परामर्शमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङलगायत र आयोगका पूर्वसचिवहरू मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्तलगायत सहभागी हुनुहुन्थ्यो ।
आयोगमा अहिलेसम्म १२५ दल दर्ता भएका छन् । १९ वटा दल दर्ताका प्रक्रियामा रहेको आयोगले जनाएको छ ।


