२०८२ कार्तिक २५, सोमवार , १२:२४:०० बजे

Sajhamanch
'

कमल गाउँपालिकाद्वारा दमक र गौरादहलाई सावरी साधन सहयोग

सोमवार, कार्तिक २५, २०८२
  • उमानाथ भण्डारी

कमल । छिमेकीलाई समस्या परेको बेला सहयोग गर्नु मानवीय कर्तव्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै झापाको कमल गाउँपालिकाले दमक र गौरादह नगरपालिकालाई आफूसँग भएका ३ वटा सवारीमध्ये दुईवटा सवारी साधन आइतबार उपलब्ध गराएको छ ।

कमलले संसद सचिवालयबाट अघिल्लो स्थानीय सरकारलाई प्राप्त भएको बा.१ झ. ८४८६ नम्बरको स्कोरपिया गौरादह नगरपालिकालाई दिएको छ । त्यस्तै दमक नगरपालिकालाई प्रदेश १–०१÷००१ झ २७६ नम्बरको गाडी दिइएको छ । जुन अर्थमन्त्रालयको सिफासिरमा जलेश्वर भन्सार कार्यालयबाट गाउँपालिकाले पाएको थियो ।

त्यसैगरी कोशी प्रदेश सरकारबाट विपद्का समयका प्रयोग गर्नेगरी अघिल्लो स्थानीय सरकारलाई प्राप्त भएको प्रदेश १–०२ ००१ झ ०७३० नम्बरको प्रहरी भ्यान गत असोज १० गते नै कमल गाउँपालिकाले इलाका प्रहरी कार्यालय दमकलाई प्रदान गरेको थियो ।

गाउँपालिकासँग रहेका ३ वटा गाडीमध्ये मे १ झ १४७ नम्बरको स्करपियो पालिकाले आफ्नै स्रोतबाट खरिद गरेको हो । गाउँपालिकाले खर्चमा मितव्ययिता अपनाउन सवारी साधन छिमेकी पालिकालाई प्रदान गरेको हो ।

जेन–जी आन्दोलन पछि देशमा भएको आर्थिक क्षतिलाई व्यवस्थापन गर्दै स्थानीय तहको खर्चलाई मितव्ययी बनाउने नेपाल सरकारको परिपत्र अनुसार गाउँ कार्यपालिको निर्णयले आवश्यक परेको बेला पुनः फिर्ता लिने शर्तसहित नगरपालिकाहरुलाई ती सवारी साधन प्रदान गरिएको जनाइएको छ ।

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका कारण देशभरका सरकारी कार्यलयमा भएका सवारी साधनमा तोडफोड र आगजनी भएका थिए । यसै क्रममा दमक र गौरादह नगरपालिकासमेत जेन–जी आन्दोलनबाट अछुतो रहेनन् । नगरपालिकाको कार्यालयसँगै नगरसँग भएका सवारी साधनसमेत पूर्णरुपमा ध्वस्त भएका थिए ।

विपद्को समयमा कमल गाउपालिकाले गरेको सहयोग प्रति गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी र दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईले आभार प्रकट गर्नु भएको छ ।

सम्बन्धित खबर