
झापा । जेनजी आन्दोलनका क्रममा कनकाई नगरपालिकाको भौतिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा कनकाई नगरपालिका –३ का विष्णु बराइली पक्राउ परेका छन् ।
उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनकै नेतृत्वमा कनकाई नगरपालिकाको भौतिक सम्पत्ति, सवारी साधन र अन्य भौतिक सामग्री तोडफोड गरिएको आरोप लागेको छ ।
उनीसँगै जेनजी आन्दोलनमा कनकाई नगरपालिका र नगरभित्रका व्यक्तिहरूको निजी सम्पत्ति तोडफोड र आगजनी गर्ने व्यक्तिहरूको पहिचान भइरहेको प्रहरीले जनाएको छ ।
कनकाईमा वडा नं.१ स्थित कनकाई नगरपालिकाको कार्यालय भवन तोडफोड र आगजनी ,कनकाई –१ र ७ स्थित नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको २ वटा घरमा तोडफोड, आगजनी र लुटपाट ,कनकाई –३ स्थित नगर उपप्रमुख आशाकुमारी शिवाकोटीको घर तोडफोड , कनकाई –३ का वडाध्यक्ष युवराज चौलागाईंको घर तोडफोड ,कनकाई –३ स्थित इलाका प्रहरी कार्यालय, सुरुङ्गाको भवन तोडफोड र सवारी साधनहरूमा आगजनी , कनकाई –१, २, ३, ४, ५, ६, ७, ८ र ९ वडा कार्यालयहरूमा तोडफोड र आगजनी ,कनकाई –३ स्थित नेपाली काँग्रेसका झापा जिल्ला सभापति देउकुमार थेबेको घर तोडफोड र सामानहरू घर बाहिर ल्याएर आगजनी गरिएको थियो ।
यसरी सरकारी सम्पत्तिमा तोडफोड गर्ने धेरै व्यक्तिको पहिचान भएको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।


