
जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर गहिराइमा गएको हो । प्रारम्भिक मापन अनुसार केही तटीय क्षेत्रमा १० देखि २० सेन्टिमिटरसम्मका स–साना सुनामीका लहरहरू देखिएका थिए, तर ठूलो क्षति वा बाढीको विवरण भने अहिलेसम्म नआएको यूरोन्यूजले जनाएको छ ।
अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण समेत आएको छैन । भूकम्प गएको क्षेत्र नजिकै दुई वटा परमाणु ऊर्जा संयन्त्र रहे पनि त्यहाँ क्षति नभएको भनिएको छ । भूकम्पका कारण केही क्षेत्रहरूमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको र टोहोको शिंकान्सेन बुलेट रेल सेवा रोकिएको छ ।अधिकारीहरूले आउँदो केही दिनमा अरु परकम्प आउन सक्ने चेतावनी दिएका छन् । जापानकी प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जालमार्फत नागरिकलाई तटीय क्षेत्रबाट टाढा रहन र सतर्क रहन आग्रह गरे।


