
गाईघाट । यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ ।
लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।
पाँच वर्षयता प्रत्येक घरका कृषकले २०० देखि ४०० सम्म सुन्तलाका बिरुवा विस्तार गरेका उहाँले बताउनु भयो । आफूले करिब ४५० बिरुवा हुर्काइसकेको जनाउँदै उहाँले बोटले फल दिन थालेका बताउनु भयो ।
लिम्चुङ्बुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार पाँच वर्षदेखि पालिकालाई सुन्तला जोन बनाउने अभियान सुरु भएको छ । हालसम्म करिब ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।
लिम्चुङ्बुङ–३ ताम्लिछाका कृषक लखनसेर राईले भन्नुभयो, ‘पहिला आफ्नो बगानमा २० बोट सुन्तला थियो । अहिले २२५ पुगिसकेको छ ।’ कृषक खेमबहादुर कार्कीले दुई वर्षदेखि वार्षिक रु. एक लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्न थालेको जानकारी दिनुभयो ।
लिम्चुङ्बुङ–४ जाँते हिम्मा, खोस्टुङ क्षेत्रमा पनि दशौँ हजार सुन्तलाका बिरुवा हुर्किएका छन् । अहिले यो क्षेत्र सुन्तलामय बनेको वडाध्यक्ष केशर राईले बताउनु भयो । पालिकाका उपाध्यक्ष राईका अनुसार पछिल्लो समय सुन्तताखेती विस्तार भएसँगै यस क्षेत्रबाट वार्षिक रु. २० लाखसम्मको सुन्तला बिक्री हुन थालेको छ ।
‘अहिले पनि सुन्तलाका बिरुवा हुर्किरहेकाले आगामी चार वर्षभित्र पालिकामा रु. १० करोडभन्दा बढीको सुन्तला बिक्री हुने विश्वास छ’, उहाँले भन्नुभयो । अहिले पालिकाका सबै वडामा ‘एक घर सय बोट सुन्तला’ अभियान सञ्चालन गरेर खेती विस्तार गर्न थालिएको पालिकाका जनप्रतिनिधिले बताएका छन् ।
यसअघि सबैभन्दा बढी सुन्तला उत्पादन क्षेत्रका रूपमा ताप्ली गाउँपालिका रहेको थियो । अहिले ताप्लीमाभन्दा लिम्चुङ्बुङ गाउँपालिकामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनुभयो ।
पालिकामा सबैभन्दा बढी सम्भावना बोकेको सुन्तला, डल्ले खुर्सानी, कागतीलगायत कृषिउपज रहेका बताउँदै उनले उत्पादन र खेती गरिएको क्षेत्रका आधारमा जोन विस्तार गर्दै जाने योजना रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय यहाँयता पटकपटक गरेर ५० हजार सुन्तलाका बिरुवा विस्तार गरिएको छ । ती बोटले फल दिन थालेपछि आम्दानी बढ्नुका साथै सुन्तलामा आत्मनिर्भर बन्नसक्ने अध्यक्ष राईको भनाइ छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवका अनुसार यहाँका पहाडी क्षेत्रका पालिकाहरूमा तीव्र रूपमा सुन्तलाखेती विस्तार भइरहेको बताउनु भयो । सबैभन्दा बढी लिम्चुङ्बुङ गाउँपालिकामा सुन्तलाखेती विस्तार भएको उहाँको भनाइ छ ।
चार वर्षपछि पालिकामा वार्षिक .रु १० करोडभन्दा बढीको सुन्तला उत्पादन हुने पालिका अध्यक्ष राईले विश्वास व्यक्त गर्नुभयो । सुन्तला, कागती र डल्ले खुर्सानी किसानलाई प्रोत्साहन गर्दै प्रमुख आर्थिक स्रोतका रूपमा विस्तार गर्ने पालिकाको योजना रहेको उहाँको भनाइ छ ।


