२०८२ कार्तिक २४, आइतवार , ०५:३०:५४ बजे

Sajhamanch
'

तोडफोडपछि बिर्तामोडको बजार क्षेत्रमा सीसी क्यामेराको निगरानी शून्य

आइतवार, कार्तिक २४, २०८२

झापा । झापा बिर्तामोड बजार क्षेत्रको सुरक्षा निगरानीका लागि जडान गरिएका सीसी क्यामेरामा क्षति पुगेपछि अपराध अनुसन्धानमा कठिनाई हुने देखिएको छ । मुख्य गरेर बजार क्षेत्रमा हुने संभावित अपराधका घटनामा अनुसन्धान गर्न प्रहरीलाई सीसी क्यामेरा ठुलो सहयोगी साधन बनेको थियो ।

जेनजी आन्दोलनका क्रममा मुख्य राजमार्ग क्षेत्रका सीसी क्यामेरा तोडफोड गर्नुका साथै फाइवर लाइन समेत काटिएपछि क्यामेरा मार्फत हुने निगरानी लगभग बन्द भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले करिव १२० वटा सीसी क्यामेराबाट मुख्य राजमार्ग र भित्री बजार गल्लीहरु निगरानी गर्दै आएको थियो । अहिले भित्री गल्लीका लगभग २० वटा क्यामेरा मात्र सुरक्षित रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठले ८-१० वटा मनिटरबाट बिर्तामोडको निगरानी हुँदै आएको थियो । सीसी क्यामेरामा क्षति पुगेपछि सुरक्षा अनुसन्धानमा समस्या भइरहेको उहाँको भनाई छ ।

बजार क्षेत्रमा हुने कुनै पनि घटनाको अनुसन्धान गर्न सीसी क्यामेरा अति प्रभावकारी भइरहेको थियो, डिएसपी श्रेष्ठ भन्छन्, ‘हिट एण्ड रन’ का घटनामा अनुसन्धान गर्न सीसी क्यामेरा प्रभावकारी हुन्छ । यसअघि पनि दजनौं घटनामा सीसी क्यामेरामा कैद फुटेजका आधारमा अनुसन्धान गर्न सहज भएको थियो ।

डिएसपी श्रेष्ठले बजारमा सुरक्षाका लागि सीसी क्यामेरा अनिवार्य आवश्यकता भएको बताउनु भएको छ। उहाँले नागरिकको सुरक्षामा प्रहरीलाई सीसी क्यामेरा सहयोगी भएको उहाँको भनाई छ । कतिपय दुर्घटनाका घटनामा दोषी पत्ता लगाउन पनि सीसी क्यामेराको फुटेज उपयोगी भएको थियो ।

बिर्तामोडमा ०७५ सालदेखि सार्वजनिक स्थलमा सीसी क्यामेरा जडान गरेर सुरक्षा निगरानी गर्न थालिएको हो । तत्कालिन डिएसपी कृष्ण कोइरालाले बिर्तामोडमा सीसी क्यामेरा जडानका लागि अगुवाई गर्नु भएको थियो । उहाँले बिर्तामोड बजारको सुरक्षाका लागि पहिलो चरणमा ६४ वटा क्यामेरा जडान गर्नु भएको थियो ।

कोशी प्रदेश सरकार, बिर्तामोड नगरपालिका, वडा कार्यालयहरु र समुदायस्तरको सहयोगमा सीसी क्यामेरा जडान गरिएको थियो । बिर्तामोडमा करोडभन्दा माथि खर्च गरेर सीसी क्यामेरा जडान गरिएको बताइएको छ ।

बिर्तामोडमा जडित सीसी क्यामेराले शान्ति सुरक्षासँगै अपराध, अनुसनधानमा ठुलो मद्दत पुगेको थियो । एक जना भारतीय नागरिकले ठुलो परिमाणमा सुन चोरी गरेर सैलुनमा दारी काट्दै गर्दा सीसी क्यामेराकै मद्दतबाट प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

दर्जनौ पटक मान्छे भेटिएको , हराएका ब्याग, सामानहरु सीसी क्यामेराबाट फेला परेको प्रहरीको भनाई छ । दिउँसो हुने कुनै पनि घटनाको अनुसन्धानमा प्रहरीलाई सीसी क्यामेराको फुटेजले अनुसन्धानमा सहयोग पुगिरहेको थियो ।

इप्रका बिर्तामोडको कार्यक्षेत्र पूर्वमा देउनिया पुल र पश्चिममा सुरुङासम्म सीसी क्यामेरा जडान गरिएको थियो । सीसी क्यामेरा भएका कारण अन्य समस्या भएका व्यक्तिहरु पनि इप्रकामा सहयोग लिन पुगिरहेका हुन्थे । बढ्दो बजार बिर्तामोडमा सीसी क्यामेरा जडानमा ढिलाई गर्न नहुने स्थानीयबासीको माग रहेको छ ।

सम्बन्धित खबर