२०८२ कार्तिक २४, आइतवार , १२:०५:०७ बजे

Sajhamanch
'

जनश्रुति महिला साकोसको कारोबार बिर्तामोडकै ठूलो !

आइतवार, कार्तिक २४, २०८२

बिर्तामोड । बिर्तामोडका १३ वटा महिला सहकारीमध्ये जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्था वासलातको हिसाबले नगरकै ठूलो रहेको बताइएको छ ।

बिर्तामोड ५ स्थित जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको १२औ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा ११ करोड ३७ लाख ६ हजार ७५ रुपैयाँको वासलात प्रस्तुत गरिएकोबाट यसको पुष्टि गरेको हो ।

संस्थाका अध्यक्ष तुलकुमारी राजवंशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले समीक्षा वर्षमा ७ लाख ८१ हजार ४११ रुपैयाँ खुद नाफा आर्जन गरेको बताइन् । उनले त्यसकै आधारमा सदस्यहरुलाई लाभांश वितरण गरिने जानकारी दिइन् ।

संस्थाको शेयर पुँजी २ करोड १ लाख १३ हजार ४९० रुपैयाँ रहेको संस्थाको निक्षेप बचत ७ करोड ३१ लाख ९३ हजार २०९ र कर्जा १० करोड ३५ लाख ५८ हजार ५७३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

बिर्तामोड र अर्जुनधारा नगरपालिका कार्यक्षेत्र रहेको संस्थामा १ हजार ९०७ जना सदस्य रहेका छन् ।

साधारण सभाको उद्घाटन गर्दै सहकारी प्रशिक्षक डिल्ली दाहालले कोरोना कहर र आर्थिक मन्दीको मार परिरहेको विषम परिस्थितिमा समेत जनश्रुति महिला साकोसले नाफा कमाएर सदस्यहरुलाई लाभांश वितरण गर्नु प्रशंसनीय कार्य भएको बताए ।

उनले महिलाहरुले चलाएको सहकारीहरु कहीँ पनि नबिग्रिएको बताउँदै महिला सहकारी चलाउने संचालकहरुमा इमान्दारिता देखिएको धारणा राखेका थिए । कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक सावित्रीकुमारी राजवंशीले समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक सदस्य सम्मानबाट कौशल्या चौधरी र हेमवती राजवंशी, उत्कृष्ट बचतकर्ता सम्मानबाट ओमादेवी ढकाल, सुरज राजवशी र तुलसा मिश्र, असल कारोबारकर्ता सम्मानबाट विमला चौधरी र ज्योति पराजुली तथा सामुदायिक विद्यालयतर्फबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीमध्ये लिलाकुमारी अधिकारी शिवाकोटीकी छोरी ऋतिका शिवाकोटी र प्रवाशी राजवशीका छोरा नेल्सनसिंह राजवंशीलाई पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाकी सदस्य अनिता कार्की बस्नेतले शव्दिक स्वागत गरेको कार्यक्रमको संचालन सचिव ममता राजवंशीले गरेकी थिइन् ।

सम्बन्धित खबर