
काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको भन्ने विषयमा सत्यता नरहेको बताउनुभएको छ ।
सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको टीकाटिप्पणी भइरहेका बेला उहाँले सरकारले जेनजी समूहसँगको छलफलमा शुरुआतमा धेरै समय खर्चनुपरेको तर अन्य दलहरूलाई अवमूल्यन नगरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदीय अभ्यास ब्रेक भएको बेलामा हामी एउटा पुल निर्माण गरेर पुनः जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने एकमात्र लक्ष्य लिएर हिँडेका छौँ । तर चुनावमात्रै लक्ष्य रहँदैन रहेछ ।
चुनावको तयारीका क्रममा गर्नुपर्ने विभिन्न कामका साथसाथै असन्तुष्ट पक्षको कुरा सुन्नुपर्ने कारणले गर्दा र सरकारको दैनिकीसमेत सञ्चालन गर्नुपर्ने कारणले गर्दा हामीहरू अलिकति ढिलो भएको हो । यो सरकारले कहिल्यै पनि दलहरूलाई अवमूल्यन गरेको छैन ।’
मन्त्री सिन्हाले सुरक्षा अवस्थालाई सहज बनाउन नागरिकले प्रहरीलाई गरेको सहयोगको प्रशंसासमेत गर्नुभयो ।


