
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ ।
प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता हेर्न स्थानीयदेखि आसपासका जिल्लाबाट दर्शकहरूको रंगशालामा उपस्थित भएको छ । महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीहरूको प्रतिस्पर्धाले दर्शकको आकर्षण झनै बढाएको छ ।
आयोजक झापा महिला फुटबल प्रतियोगिता समितिका अध्यक्ष सन्तोष थोप्राले भन्नुभयो, “दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ । महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य हो । टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिनेछ ।”
टिकट बिक्री विवरणअनुसार क्वार्टर फाइनलको ३ खेलको टिकटबाट ९ लाख ७० हजार रुपैयाँ र अन्तिम क्वार्टर फाइनलको टिकटबाट १ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ ।
प्रतियोगिताको सुरुवाती चरणमै रंगशाला भरिभराउ हुने अवस्था देखिएको थियो । विशेषगरी विभागीय टोलीले खेलेका खेलमा दर्शक संख्या उच्च रहेको थियो । मैदानमा परिवारसहित आएका स्थानीय दर्शकदेखि फुटबलप्रेमी युवासम्मको उपस्थितिले दुधेलाई उत्साहित फुटबल माहोलले भरिएको बनाएको छ ।
आज र भोलिको सेमिफाइनल खेलमा दर्शकका लागि टिकट दर सामान्यतर्फ २०० र ३०० रुपैयाँ तथा भिआइपीतर्फ १,००० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । हरेका दिन दुईजना दर्शकलाई भागयशाली उपहारको व्यवस्था गरिएको छ ।
विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिता फाइनल खेल कात्तिक २४ गते हुनेछ ।


