
झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) का मालिकहरूले टोली बिक्री गर्ने तयारी शुरू गरेका छन् ।
ब्लुमबर्ग न्युजका अनुसार टोलीका मालिकहरू अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब अमेरिकी डलरसम्मको मूल्याङ्कन लक्ष्य राखिरहेका छन् ।
आरसीबीको सम्भावित बिक्रीबारे हुने यो समीक्षा र निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना देखिएको छ ।
विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसीबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ शुरू भएको औपचारिक रूपमा जनाएको छ । आउँदो वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ ।
सन् २००८ मा स्थापना भएको यो चर्चित टी–२० क्रिकेट लिगमा आरसीबीले पहिलो पटक यसै वर्ष जुन महिनामा आईपीएल उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
तर विजयको उत्सवपछि बेङ्गलोरको एम चिन्नास्वामी स्टेडियम बाहिर आयोजित विजय परेडमा भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो भने ५० भन्दा धेरै घाइते भएका थिए ।


