
बिर्तामोड । नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिको निष्पक्ष मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।
आज बिहान बिर्तामोडमा विशेष पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले नेताका घरहरु छानी छानी आगजनी गर्ने, तोडफोड गर्नेहरुको पहिचान भइसकेकोले कारबाही ढिलाई नगर्न सरकारसँग माग गरेको हो ।
पत्रकार सम्मेलन मार्फत जेन-जी आन्दोलनमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति नष्ट हुनु अपराधको दायरा भित्र पर्ने भन्दै दोषीको पहिचान गरी कानूनी कारबाही गर्न आग्रह गरिएको हो ।
नगर पार्टी अध्यक्ष सुवास भट्टराईले भदौ २३ र २४ गते बिर्तामोड क्षेत्रमा भएको घटनामा पार्टी नेतासहित स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालय, दलका कार्यालयहरु लगायतका संरचनामा आगजनी तथा लुटपाट भएको विवरण सार्वजनिक गर्दै सो घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
बिर्तामोड नगरपालिकाको भवन, बिर्तामोड नगरपालिकाका ८ वटा वडा कार्यालय, नेपाल टेलिकम, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकीहरु, भाटभटेनी सुपरस्टोर लगायतका संरचनामा तोडफोड र आगजनी तथा लुटपाट भएकाले ठूलो आर्थिक क्षति पुगेको उल्लेख गरिएको छ ।
त्यस्तै, पार्टी नगर कमिटी अध्यक्ष सुवास भट्टराई, पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रदेश मन्त्री एकराज कार्की, नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष मदन बुढाथोकी लगायतको घर तथा गाडीमा समेत आगजनी र लुटपाट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै नेकपा एमालेको जिल्ला पार्टी कार्यालय तथा तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालयसहित अरबौंको संरचनाहरुमा क्षति पुर्याइएको एमालेले जनाएको छ ।
पत्रकार सम्मेलनमा पूर्वप्रधानन्यायाधीश नेतृत्वको ‘असंवैधानिक सरकार’ले संसदले पारित गरेको बजेट रोकेपछि बिर्तामोडमा विनियोजित करिब ६२ करोड रुपैयाँ बराबरका विभिन्न सडक र पूर्वाधार योजनाहरू ठप्प परेको बताइएको छ । रोकिएका योजनाहरू तत्काल कार्यान्वयन गर्दै ठेक्का प्रक्रिया सुरु गर्न सरकारले कदम चाल्नुपर्ने माग एमाले बिर्तामोडको छ ।
यही कात्तिकमा परेको बेमौसमी वर्षाका कारण पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको भन्दै पार्टीले तीनै तहका सरकारले प्रभावित किसानलाई उचित क्षतिपूर्ति व्यवस्था गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा पार्टीको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएकोले सम्पूर्ण कार्यकर्ता र जनसमुदायलाई तयारीमा जुट्न नगर कमिटीले आग्रह गरेको छ । त्यसैगरी, केन्द्रीय निर्णयअनुसार कात्तिक २२ मा वडास्तरीय, २५ मा पालिकास्तरीय (बिर्ताबजारमा) र २९ गते जिल्लास्तरीय जागरणसभा गर्ने निर्णय सार्वजनिक गरिएको छ ।
विज्ञप्तिमा प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन भएको आरोप लगाउँदै पुनःस्थापना र संविधान संशोधनमार्फत नवयुवाको मुद्दा समाधान हुने वातावरण बनाउनुपर्ने स्पष्ट गरिएको छ ।
यस्तै, एमालेले गरामनी बजारमा शहीदहरुको प्रतिमा तोडफोड हुनुलाई अपराध गरेको भन्दै उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न माग गरेको छ ।
एमालेले वर्तमान राजनीतिक अस्थिरताको फाइदा उठाउँदै अराजक तत्व सक्रिय रहेको आरोप लगाउँदै व्यवसाय, शिक्षा र सर्वसाधारणको सुरक्षामा प्रशासन गम्भीर हुनुपर्ने माग गरेको छ ।
यता, उजुरी दिने पीडितको अधिकार सुरक्षित गर्नु राज्यको दायित्व भएको भन्दै प्रहरी प्रशासनलाई शान्ति–सुरक्षा मजबुत बनाउन आग्रह गरिएको अध्यक्ष भट्टराईले जानकारी दिर्नुभयो ।
जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति एमाले नगर कमिटीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारलाई क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्न माग गरेको छ ।
पत्रकारहरुको जिज्ञासामा जवाफ दिँदै अध्यक्ष भट्टराईले एमाले युवाहरुको, जेन-जीहरुको पार्टी भएको बताए । युवाहरुले नै बनाएको पार्टी एमालेले मात्रै युवाहरुको माग सम्बोधन गर्न सक्ने स्पष्ट पार्नुभयो ।


