
भद्रपुर । झापाको नेतृत्व सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विकृतिरहित झापा निर्माण गर्न र शान्ति सुव्यवस्थाका लागि अपराध नियन्त्रणमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
धनकुटाबाट झापा आइपुगेका प्रजिअ गेलालले आसन्न निर्वाचन भयरहित सम्पन्न गर्न पनि अपराध नियन्त्रण अनिवार्य रहेकाले विकृतिरहित झापा निर्माणका लागि प्रतिबद्धता जाहेर गरेका हुन् ।
कार्तिक १३ गतेबाट झापा प्रशासनको नेतृत्व सम्हालेका गेलालले झापाली सञ्चारकर्मीहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै खुल्ला सिमानाका कारण हुने गरेका चोरी तस्करी पूर्ण बन्देज गर्दै अपराधमा संलग्न माथि कानुनी कारवाही गर्ने बताए ।
प्रजिअ गेलालले सरकारी कार्यालय आसपास हुने गरेको बिचौलिया प्रबृत्ति पूर्ण रोक्ने जनाउँदै सडक अतिक्रमण गरेर कार्यालय आसपास भइरहेका व्यापार अबिलम्ब बन्द गराउने जानकारी दिए ।
प्रजिअ गेलालले जिल्ला प्रशासन कार्यालय नजिकैको साविक डिभिजन सहकारी कार्यालय कब्जा गरेर भइरहेको अवैध व्यपारदेखि बिचौलियाका कारोवार तुरून्त हटाउने समेत प्रष्ट पारेका छन् ।
प्रजिअले अनाधिकृत रूपमा प्रवेश गर्ने भारतीय सवारी साधनको निगरानी बढाउने, कवाडी संकलनका नाममा गाउँगाउँ गएर जासुसी गर्ने, अटो तथा इरिक्सा नियमन गर्ने, भन्सार छली, चोरी तस्करी नियन्त्रण गरी शुसासनको वातावरण निर्माण गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।


						
						
						