
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग फुटबल गर्ने सहमति भएको छ ।
हिजो एन्फा कम्प्लेक्समा एन्फा र क्लबहरूबीच बसेको बैठकपछि आउँदो पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुसमा ‘होम एन्ड अवे’ ढाँचामा ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको हो ।
राष्ट्रिय लिगभन्दा अगाडि मकवानपुरमा एन्फा प्रेसिडेन्ट लिग पनि हुनेछ जहाँबाट चार वटा टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने छन् । राष्ट्रिय लिगमा गत संस्करणको ‘ए’ डिभिजन लिगमा शीर्ष छ मा रहेका टोली र प्रेसिडेन्ट लिगबाट गएका चार टोली गरी १० टोलिको प्रतिस्पर्धा हुनेछ ।
यही वर्षको पुस ९ देखि शुरु हुने राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा सहभागिता जनाउनेछ । हिजोको सहमतिले साढे तीन वर्षभन्दा बढी समयपछि मात्र लिग आयोजना हुनेछ । क्लबहरूले समेत एन्फाको प्रस्ताव अनुसार लिग खेल्न नपर्ने र ‘ए’ डिभिजन हैसियत पनि बाँकी नै रहने भएपछि सहमति जनाएर हस्ताक्षर गरेका छन् ।
‘ए’ डिभिजन हैसियतका १४ क्लबले अर्को वर्ष हुने एन्फा चुनावमा भाग लिन पनि पाउने भएका छन् । ‘ए’ डिभिजनका १४ वटै क्लबलाई एन्फा निर्वाचनमा मताधिकार रहने व्यवस्था छ । राष्ट्रिय लिग भएपछि कुनै पनि क्लब रेलिगेसनमा जाने छैनन् भने २०७९ सालको लिगका शीर्ष छ क्लबले मात्र लिग खेल्न पर्नेछ ।
पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिजन लिग फुटबल आयोजना भएको थियो । त्यो संस्करणमा चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको थियो । त्यसपछि एन्फाले लिग गर्न सकेको छैन । लिग नभएकै ८७६ दिन बितेको छ । नयाँ सहमति अनुसार लिग हुन अझै ४१० दिन बाँकी छ । यस हिसाबले लिग झन्डै चार वर्षपछि मात्र हुने भएको हो ।





						
						
						