
काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेन्डर आह्वान भएको छ ।
नागढुङ्गा सुरुङ निर्माण आयोजनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि आज टेन्डर आह्वान गरेको हो ।
बोलपत्र बुझाउने अन्तिम दिन आउँदो पुस २ गते अर्थात् डिसेम्बर १७ तारिख रहेको छ । सुरुङमार्फत् गाडी चलाउन सक्ने अवस्था भए पनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन । सरकारले सुरुङ मार्गबाट गुड्ने गाडीका लागि यसअघि नै शुल्क अर्थात् दस्तुर तय गरिसकेको छ ।
नागढुङ्गा सुरुङमार्गमार्फत् कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरीदा ६० रुपैयाँ, त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरीदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० र बाहिरीदा २०० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै ठूला उपकरणका गाडीले काठमाडौं प्रवेश गर्दा ६०० र बाहिरीदा २५० रुपैयाँ शुल्क (दस्तुर) बापत तिर्नुपर्नेछ ।


