
काठमाडौं । हिजोदेखिको वर्षाका कारण देशभरका सात ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार पाँचथर, ओखलाढुङ्गा, काभ्रे, रसुवा, सिन्धुली, मुस्ताङ र म्याग्दीमा सडक अवरुद्ध भएको हो ।
काभ्रेको कोक्सिकुना, बिरुवाडाँडा, नमोबुद्ध र रोशी गाउँपालिकामा पहिरो खस्दा बीपी राजमार्ग बिहानदेखि बन्द भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा पहिरोले बेनी–दरवाङ सडक खण्ड रोकिएको छ भने मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर–६ अकरेभिरमा पनि सडक अवरुद्ध भएको छ ।
रसुवाको गोसाइँकुण्ड–२ मा पासाङल्हामु सडक खण्ड पहिरोले बन्द भएको छ । पाँचथर–धनकुटा सिमानाको नावाखोलामा तमोर करिडोर अवरुद्ध बनेको छ । जोमसोम–कोरोला सडक मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ कालाभिरमा पहिरोले सडक बन्द भएको छ ।
यस्तै इलामको मेची राजमार्गमा हिजोदेखि नै रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । साथै, कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभा भोटखोला–४ बरुणखोलामा जेठ ६ गतेदेखि नै बन्द भएको सडक अझै खुलेको छैन ।


 
						 
						 
						