२०८२ कार्तिक १४, बिहिवार , ०१:५६:०८ बजे

Sajhamanch
'

अन्नपूर्ण बेस क्याम्पबाट १६२ पर्यटकको उद्धार

बिहिवार, कार्तिक १४, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहान सम्म १६२ जना पर्यटकको उद्धार गरेको छ ।

अब अन्नपूर्ण बेस क्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । घुम्न पुगेका सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेस क्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित आज बिहान सम्म १६२ जनाको उद्धार गरेको हो ।

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेस क्याम्प खाली भएको छ ।

३ दिनको निरन्तर प्रयासपछि बेसक्याम्प हिंडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । बुधवार मात्रै बेस क्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो ।

कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेसक्याम्पबाट तल झारिएकासहित १६२ जनाको उद्धार भएको हो । उद्धार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।

उनीहरू सबै हिमपात नभएको सुरक्षित स्थानमा छन् । उद्धार गरिएका केहीमा श्वासप्रश्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठुलो समस्या भने नदेखिएको थापाले बताउनु भयो ।

बिहिवार, कार्तिक १४, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर