
काठमाडौं । ‘जेनजी’ प्रतिनिधि एवम् अगुवाहरूले समयमै चुनाव सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा उनीहरुले समयमा चुनाव हुनुपर्ने राय राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ‘जेनजी’ समूहका प्रतिनिधि खेमराज साउदले एमालेले संसद् पुनःस्थापनाबारे राय राखेपछि आफूहरूले त्यसको खण्डन गरेको बताउनुभयो । संसद् पुनःस्थापना ‘जेनजी’ प्रदर्शनको उपलब्धि विपरीत हुने भनाइ राखेको उहाँले बताउनुभयो । ‘समयमा चुनाव हुनुपर्ने धारणा राखेका छौँ । सरकार र जेनजी समयमा चुनाव सम्पन्न गराउन सकारात्मक छौँ । यसमा दलहरू पनि लाग्नपर्छ भनेर आग्रह गरिएको छ’, साउदले भन्नुभयो ।
बैठकमा अभियन्ता सागर ढकालले चुनाव निष्पक्ष, स्वतन्त्र र प्रविधिमैत्री बनाउन आफूहरूले सबै राजनीतिक दलसँग आग्रह गरेको बताउनुभयो । उहाँले समयमा सुधारिएको चुनावसँगै भ्रष्टाचार विरुद्धको कारबाहीमा समेत सरकार केन्द्रित हुनुपर्ने विषय उठेको बताउनुभयो ।
यस्तै, बैठकमा सहभागी एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ‘जेनजी’ प्रतिनिधिले संसद् पुनःस्थापना भनेर नबस्न राजनीतिक दलसँग आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार जेनजी प्रतिनिधिले सबै राजनीतिक दललाई आउँदो चुनावमा सहभागी भई अघि बढ्न प्रस्ताव राखेको बताउनुभयो ।
बैठकमा चुनावका लागि अझै पनि वातावरण बन्न नसकेको आशङ्का केही दलबाट व्यक्त भएको पाण्डेको भनाइ थियो ।


