
काठमाडौं । नेपाल पर्वतारोहण सङ्घले देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात भइरहेको भन्दै पर्वतारोहण दल र पदयात्रीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
सङ्घले आज सूचना निकालेर पर्वतारोही र पदयात्रीलाई उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित ठाउँमा रहन अनुरोधसमेत गरेको छ । यात्रा गर्नुअघि थप सतर्कता अपनाउन पनि सङ्घले सुझाव दिएको छ । सङ्घले सम्बन्धित ट्रेकिङ कम्पनीहरूलाई पनि आफ्ना आरोहण दल तथा पदयात्रीको सुरक्षाका लागि समन्वय गर्न आग्रह गरेको छ ।
आउँदो शुक्रवारसम्म देशका विभिन्न ठाउँमा वर्षा र उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



