२०८२ कार्तिक ११, सोमवार , ०३:४७:१६ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेलद्वारा गौरीघाट पुगेर छठी माताको पूजा

सोमवार, कार्तिक ११, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गुह्वेश्वरी पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज पशुपति क्षेत्रमा रहेको गुह्वेश्वरी मन्दिर अगाडि बागमती नदी किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको हो । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि गुह्येश्वरी पुग्नुभएको थियो ।

देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ । तर यस वर्ष भने राष्ट्रपति गुह्वेश्वरीमा मात्रै जानुभएको हो ।

छठ पर्वको मुख्य दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्दछन् । हिन्दू धर्मावलम्बीहरूले हरेक दिनजसो उदाउँदो सूर्यलाई पूजा आराधना गर्दछन् । तर छठ पर्वमा अस्ताउँदो सूर्यलाई पनि पूजा गरिन्छ ।

षष्ठी तिथिका दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइसकेपछि व्रतालु र उनका परिवारका सदस्यहरू राति पनि प्रसाद सामग्रीसहित नदीनाला तालतलैया र सरोवरकै घाटमा विश्राम गर्दछन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।

हिजो गरिएको खरना विधिसम्म घरमै पूजापाठ भएको यस पर्वमा आजदेखि नदीनाला तालतलैया र सरोवरको घाटहरूमा पूजापाठ हुने गर्दछ । जसका लागि पोखरीका घाट, तालतलैया र नदीनालाका घाटहरू सजाइएका छन् ।

सम्बन्धित खबर