
काठमाडौँ । बाढी पहिरोका कारण क्षति पुगेका केही राजमार्ग अझै खुल्न सकेका छैनन् । नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कोशी र बागमती प्रदेशका ४ वटा मुख्य राजमार्ग अझै अवरुद्ध छन् ।
कोशी प्रदेशमा निरन्तर वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवामा सडक क्षति हुँदा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै, इलाम नगरपालिका–१, राजदुवाली लगायतका स्थानहरूमा अविरल वर्षाका कारण मेची राजमार्ग पनि अवरोध भएको छ ।
यसैगरी, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल बाढीले बगाउँदा तीन महिनायता पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, डालाबेशी, बुल्ढुङगा लगायतका स्थानहरूमा बाढी र पहिरोका कारण बीपी राजमार्गमा एकतर्फी रूपमा सञ्चालनमा छ ।