
काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन् ।
गएको भदौ २४ गते भएको ‘जेन–जी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा र तोडफोडबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो ।
हिजोदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेस भएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवम् संसद् पुनःस्थापनाका लागि उत्प्रेषण, परमादेशको माग गर्दै १० वटा रिट निवेदन पेस भएका छन् ।
पेस गरिएका रिट निवेदनहरू अध्ययनकै क्रममा रहेकाले दर्ता भैसकेको छैन । यहि असोज २६ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित बसेको पूर्ण बैठक (फुल कोर्ट) ले हिजोदेखि रिट निवेदन दर्ता एवम् सुनुवाइ गर्ने निर्णय गरेको थियो ।