२०८२ असोज २७, सोमवार , ०५:०१:३८ बजे

Sajhamanch
'

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

सोमवार, असोज २७, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका गाडीका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने भएको छ ।

आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका गाडीका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायतका महत्त्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।

काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’ मा क्लिक गरी फारम भर्न सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

निवेदन सबमिट भएपछि आवेदन नम्बर आउँछ । पछि चेक एप्लिकेशनमा त्यो नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिश पत्र सेवाग्राहीले प्राप्त गर्छन् ।

साथै कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिश पत्रका आधारमा अहिलेलाई गाडी सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताउनुभयो ।