
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले बाढी प्रभावित समुदायलाई राहत वितरण गरेका छन् ।
असोज १८ गते वर्षा पछि आएको कनकाई माईको बाढी प्रभावित वडा नं. ७ लालपानीको राजवंशी बस्तीका नागरिकलाई खाना पकाउने ग्यास सिलिण्डर, ग्यास चुल्हो वितरण गरिएको हो ।
नगरपालिका र वडाका कर्मचारीहरुबाट संकलित रकमले उक्त सामग्री खरिद गरेर ४५ घर परिवारलाई वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । यस्तै लालपानीका १२ परिवारलाई नागरपालिकाले खाद्य सामग्री वितरण गरेको छ ।
पहिले वितरण गरेर बाँकी रहेका परिवारलाई आज २५ केजी चामल, २ केजी दाल, ५ केजी आलु, १ लिटर खानेतेल, २ केजी नून र १ कार्टुन पानी वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख मेगाहाङ्ग थोप्राले अन्य विभिन्न संघ संस्थाहरुले खाद्य सामग्री र लत्ता कपडा वितरण गरे पनि चिसो भुइँमा खाना पकाएर खाने समस्या भएकाले बाढी प्रभावित परिवारलाई समस्या भएको बताउनु भयो ।
उहाँले नगरपालिकाका कर्मचारीहरुले स्वतःस्फुर्त रुपमा रकम संकलन गरी उक्त समस्या समाधानका लागि ग्यास चुलो र ग्यास सिलिण्डर वितरण गरेर बाढी प्रभावित परिवारको समस्या बुझेको जानकारी दिनुभयो ।
राहत वितरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुङ्बाहाङ्फेले समस्यामा परेका नगरका नागरिकको गाँस बास कपासका लागि नगरको साथसाथै कर्मचारीहरुको उत्तिकै दायित्व रहेको बताउनु भयो ।
उहाँले यसमा कर्मचारीहरुको तर्फबाट पनि बाढी प्रभावित परिवारलाई अति आवश्यक ठानेर ग्यास र चुल्हो वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको सक्रियताले बाढी प्रभावित क्षेत्र बाढी आएको अवस्थामा भन्दा धेरै नै व्यवस्थित भइसकेको छ ।
त्यस्तै शिवसताक्षी नगरपालिकाले आज नै ५ र ६ नम्बर वडाका बाढी प्रभावित परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।
वडा नम्बर ५ का ४५ र वडा नम्बर ६ का ३३ परिवारलाई खाद्य सामग्री वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरले वडा नं. ५ र ६ मा पनि चामल, आलु, नून, तेल लगायतका खाद्य सामग्री वितरण गरेको हो ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिनका लागि नगरको स्वास्थ्य टोलीलाई दैनिक रुपमा नागरिकको स्वास्थ्य परीक्षणका लागि परिचालन गरिएको छ ।
नगर स्वास्थ्य शाखाका फोकल पर्सन रोशन अधिकारीले बाढी प्रभावित क्षेत्रमा हैंजा बढ्ने सम्भावना रहेकाले घर घरमै गएर स्वास्थ्य परीक्षण तथा विरामीलाई आवश्यक औषधी वितरण गरिएको जानकारी दिनुभयो ।
लालपानीका बाढी प्रभावित क्षेत्रका विद्यार्थीहरुको विद्यालय पोशाक, शैक्षिक सामग्रीसमेत बाढीले क्षति पुर्याएको हुँदा शैक्षिक सामग्रीसमेत वितरणको तयारी रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
शैक्षिक सामग्री व्यवस्थापनका लागि नगरका शिक्षकहरुले स्वतःस्फूर्तरुपमा रकम संकलन गरी नेपाल शिक्षक महासंघ मार्फत नगरपालिकालाई १ लाख २५ हजार ररुपैयाँ हस्तान्तरण गरिसकेको नगर विपत व्यवस्थापन शाखाले जनाएको छ ।