
सुर्खेत । पछिल्लो समय विभिन्न बहानामा पुग्ने बाहिरी व्यक्तिबाट राउटे समुदायले असुरक्षा महसुस गरेको बताएका छन् ।
आफ्नै जीवन्त रीतिरिवाज र वेशभूषामा जङ्गलमा बस्दै आएका उनीहरुको बस्तीमा जथाभावी बाह्य व्यक्तिको प्रवेश बढ्न थालेको छ । अस्ति राउटे समुदायमा त्रास सृजना गरेको आरोपमा एक युवालाई राउटे समुदायका युवाहरूले समातेका थिए ।
सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले रक्सी खाएर रातमा राउटेबस्तीमा छिरेका थिए । हिजो बिहान ती युवालाई नजिकैको प्रहरीलाई खबर गरी जिम्मा लगाइएको थियो । बस्ती भित्र छिरेर त्रास सिर्जना गर्ने युवकलाई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।
कर्णालीका विभिन्न ठाउँमा फिरन्ते रूपमा जीवन बिताउँदै आएका राउटे समुदायमाथि केही वर्ष अगाडि पनि अवाञ्छित काम गर्ने केही व्यक्तिलाई प्रहरीले कारबाही गरेको थियो ।
राउटे समुदायका युवा दीपक शाहीका अनुसार बाहिरबाट बिनाकाममा बस्तीभित्र आउनेहरुले गर्दा असहजता हुने गरेको छ । उहाँले आफ्नो बस्तीमा सुरक्षाको माग गर्नुभएको छ ।
यस्तै, राउटे समुदायको रेखदेखका लागि काम गर्दै आएका सोसेकका दुर्गा खत्रीले पनि पछिल्लो समय राउटे समुदायमा सुरक्षा चुनौती थपिएको र बस्तीको लागि प्रहरी खटाउन आवश्यक रहेको बताउनुभएको छ ।
यसैबीच केही दिनदेखि राउटे समुदायमा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै गएको छ । शुरुमा दुई जनामात्रै बिरामी परेकामा पछिल्लो एक हप्तामा २५ जना बिरामी परेका छन् ।
उनीहरूले डेङ्गीलगायत अन्य जाँच गर्न नदिने गरेको भन्दै प्राथमिक उपचारमात्र गर्ने गरिएको राउटे समुदायको उपचारका लागि खटिनुभएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताउनुभएको छ ।
राउटेको सङ्ख्या लगातार घट्दो छ । २०७५ सालमा १४९ रहेको राउटेको जनसङ्ख्या २०८१ माघ १५ सम्म आइपुग्दा घटेर एक सय ३५ मा झरेको छ ।