२०८२ असोज २६, आइतवार , १०:२०:०६ बजे

Sajhamanch
'

पर्सा र बारामा हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु हुँदै

आइतवार, असोज २६, २०८२

काठमाडौं । सरकारले पर्सा र बाराको हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु गर्दैछ । हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिन लागिएको हो ।

पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिन थालिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोपशाखाले जनाएको छ ।

खोपशाखा प्रमुख डा. अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा किनेर सहज रूपमा नपाइने र महंगो भएकाले अभियानले समेटेका क्षेत्रका लागि सुनौलो अवसर भएकाले निर्धक्क भएर प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

पर्सा र बारामा फैलिएको हैजा महामारी र अहिलेको ठूलो वर्षापछि आएको बाढीले त्यस क्षेत्रमा अझै महामारीको उच्च जोखिम रहेकाले हैजाबिरुद्धको खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक लालले यो अभियान पर्सामा आजदेखि र बारामा भोलिदेखि शुरु भई तिहारअघि सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो । ती दुई जिल्लामा हैजाबिरुद्ध हरेक व्यक्तिलाई एक मात्रा खोप दिन लागिएको हो ।

पर्साको १४ र बाराको छ वटा पालिकाका एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप दिन लागिएको हो । गएको असोज ९ र १० गते १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको थियो ।

गएको भदौमा पर्साको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट शुरु भएको हैजाबाट पर्सा र बारामा एक हजार छ सय ८५ जना बिरामी भएका थिए ।

सम्बन्धित खबर