२०८२ असोज २४, शुक्रवार , १२:०३:५३ बजे

Sajhamanch
'

दशैँपछि काठमाडौं उपत्यका भित्रिनेको सङ्ख्या बढ्दै

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । दशैँ सकिएसँगै पछिल्ला दिनमा देशका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका भित्रिने गाडी र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ ।

दशैँ मनाउन आ–आफ्ना गाउँघर गएका नागरिकहरु काठमाडौं उपत्यका फर्किन थालेपछि प्रमुख नाका र सडकमा यात्रु तथा गाडीको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दशैँको भोलिपल्ट असोज १७ गतेदेखि अस्ति बेलुकीसम्म काठमाडौं उपत्यकामा एक लाख ५५ हजार ६९७ जना भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । राजमार्गहरूमा गाडीको सङ्ख्या पनि बाक्लिँदै गएको छ ।

असोज १७ गते ११ हजार ९५५ जना, १८ गते दुई हजार ६४८ जना, १९ गते १६ हजार ६९४ जना, २० गते ४० हजार ८७७ जना, २१ गते ६७ हजार ६९२ जना, २२ गते १५ हजार ८३१ जना गरी कूल एक लाख ५५ हजार ६९७ जना काठमाडौं उपत्यका भित्रिएका प्रवक्ता सुवेदीले बताउनुभयो । उहाँका अनुसार दशैँका लागि भन्दै काठमाडौं उपत्यकाबाट आठ लाख ६८ हजार ७२ जना बाहिरिएका थिए ।

हिजोआज काठमाडौं प्रवेश गर्ने नाकाहरू विशेषगरी नागढुङ्गा, फर्पिङ, साँगाचोक, बलम्बु, जगातिलगायत ठाउँमा दैनिक हजारौँको सङ्ख्यामा यात्रु तथा सयौँको सङ्ख्यामा गाडीहरु उपत्यका भित्रिने र बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

दशैँ मनाएर फर्किनेमध्ये धेरैजसो रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा राजधानी फर्किने रहेका प्रहरीले जनाएको छ । दशैँको बिदापछि अहिले काठमाडौंको जनजीवन फेरि सामान्य बन्दै गएको छ । मन्त्रालय, कार्यालय, पसल तथा अन्य सङ्घसंस्था क्रमशः सञ्चालनमा आएका छन् ।

शुक्रवार, असोज २४, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर