
झापा । नेपाली सेनाको अरिदमन गण चारआलीले झापा गाउँपालिकामा बाढीपीडितको उद्धार र राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेको छ।
गणका प्रमुख सेनानी सरोज थापाको नेतृत्वमा असोज १८ र १९ गते बाढीमा फसेका जनतालाई उद्धार गर्न र राहत सामग्री वितरणमा सेना खटिएको थियो। यस कार्यका लागि स्थानीय तहले पनि प्रशंसा गरेको छ।
अरिदमन गणले उद्धार तथा राहत वितरणसँगै नर्सिङ अर्दलीमार्फत झापा गाउँपालिका १ र २ वडाका डुबान पीडितलाई औषधि उपलब्ध गराएर स्वास्थ्य सुरक्षा सुनिश्चित गरेको छ।
उक्त अवसरमा २५० भन्दा बढी व्यक्तिको स्वास्थ्य जाँच गरिएको थियो भने आवश्यक औषधि वितरण पनि गरिएको जनाइएको छ ।
झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाका अनुसार, विपद्–कालमा सेनाको भूमिका अत्यन्तै स्वागतयोग्य रहेको छ। स्थानीयहरूले राहत वितरणदेखि स्वास्थ्य परीक्षणसम्म सेनाले पुर्याएको सहयोगको प्रशंसा गरेका छन्।
सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, झापा गाउँपालिका रेडक्रस लगायत संघ संस्थाहरूले पनि बाढी पीडितहरूको राहत तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेलेका थिए।
नेपाली सेनाले बाढीमा फसेका १०७ जनालाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो । राहत सामग्री ढुवानी गर्ने कार्यमा पनि अरिदमन गण चारआलीको महत्वपूर्ण योगदान रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभएको छ ।
अहिलेसम्म एक हजार भन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरिएको छ भने झापा गाउँपालिकाले सङ्कलन गरेको पीडितहरू को संख्या ३ हजार ४०० परिवारभन्दा माथि रहेको जनाइएको छ।