
काठमाडौं । मुख्य तरकारी तथा फलफूल बजार काठमाण्डौको कालीमाटीमा बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
मकवानपुरबाट बेच्न ल्याइएको हरियो फर्सीमा ४५ दशमलव ५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौँलामा ६५ दशमलव ०३ र काठमाडौंमा नै उत्पादित काँक्रोमा ५२ दशमलव ९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूलमा परीक्षण गरेको थियो । परीक्षणका क्रममा हरियो फर्सी, काँक्रो र घिरौँलामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएका यी तरकारी तथा फलफूल उपभोग गर्न अयोग्य रहेका पनि समितिले जनाएको छ ।
कालीमाटीमा ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ नामक समूहका विषादी परीक्षण हुँदै आएको छ । यी विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोग योग्य मानिन्छ ।