
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसहितको टोलीले बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ ।
बाढीले क्षतिग्रस्त राजमार्गको झन्डै चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो ।
मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिएका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाण्डौसँग वाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने ‘लाइफ लाइन’ का रूपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ ।
गएको आर्थिक वर्षको बाढीले राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा क्षति भएको थियो । सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले झन्डै चार किलोमिटर पुनः बगाएको छ ।
गएको वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छ । भने कही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।