
काठमाडौं । केही दिनअघिको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले दशैँपछिको वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा नष्ट गरेकाले अब सङ्क्रमण कम हुने बताउनुभयो ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गी रोग लाग्दछ । कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालले सङ्क्रमणको जोखिम कात्तिकसम्म नै रहेकाले सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो ।
उहाँका अनुसार अहिलेसम्म पाँच हजार ५४२ जनामा सङ्क्रमण देखिएकामा दशैँको बीचमा १९० जनामा सङ्क्रमण देखिएको छ । डोल्पा र मनाङ जिल्लाबाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको उहाँको भनाइ छ । सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको ज्यान गएको छ ।
कोशी प्रदेशमा ७८५, मधेश प्रदेशमा ११९, बागमती प्रदेशमा एक हजार ३१४, गण्डकी प्रदेशमा तीन हजार ३५६ जना, लुम्बिनी प्रदेशमा ९७३ जना, कर्णाली प्रदेशमा ३२८ र सुदूरपश्चिम प्रदेशमा ६६७ जनामा डेङ्गी सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ । डेङ्गी रोकथामका लागि सरकारले हरेक शुक्रवार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्दै आएको छ ।