
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । हिजो सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’ मा रहेका विभिन्न निकायसँगको समन्वय बैठकमा प्राधिकरणले यस्तो अनुरोध गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित जिल्लामा दोहोरो नपर्ने गरी एकद्वार प्रणालीमार्फत आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को–लिड्स’ निकायलाई आग्रह गर्नुभयो ।
सरकारले यसरी विपद् व्यवस्थापनमा समन्वय गर्ने ११ वटा क्लस्टर बनाइ त्यसको लिड र कोलिड तोकेर जिम्मेवारी बाँडेको छ । बैठकमा ११ वटै क्लस्टरका ‘लिड्स’ र ‘को–लिड्स’ले राहत व्यवस्थापनका लागि आ–आफ्नो निकायको सामथ्र्य एवम् विपद् प्रभावित क्षेत्रमा ती निकायबाट भइरहेका राहतका कामका बारेमा जानकारी गराएका थिए ।
क्लस्टरले विपद्को पूर्वतयारीदेखि प्रारम्भिक पुनःलाभसम्मका लागि काम गर्नेछन् । जसमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनःलाभ र आपतकालीन सञ्चार पर्दछन् ।