
काभ्रेपलाञ्चोक । गएको शुक्रवार, शनिवार र आइतवारको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेको चार पालिकामा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् ।
विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आजवजावतमा केही दिन पर्खनुपर्ने बाध्यता रहेकोे छ । खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएका हुन् ।
केही गाउँपालिकाले भने हिजोदेखि आवश्यक उपकरणसहित सडक खुलाउन थालेका छन् । बाढीपहिरोले अति विकट महाभारत पर्वत श्रृङ्खलापारी (डाडाँपारी) का दुई गाउँपालिका जाने सडक पूर्णरुपमा बन्द भएको हो ।
विशेषगरी त्यस क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारत जाने सडक खुल्न हप्ता दिन लाग्ने पालिकाका जनप्रतिनिधिले जनाएका छन् । महाभारतमा सडक, विद्युत् र सञ्चार–सम्पर्कबाट विच्छेद भएको छ ।
सडक अवरुद्ध भएका कारण महाभारत जाने कुनै वैकल्पिक सडक नभएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । यस्तै डाँडापारीमा रहेको गाउँपालिका खानीखोला जाने सबै सडक अवरुद्ध भएकाले मर्मत गरी सडक खुलाउन केही समय लाग्ने अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । रोशीको सडकअन्तर्गत बीपी विभिन्न ठाउँमा अस्थायी डाइभर्सन कटान गरेपछि विभिन्न वडा जाने सडक अवरुद्ध भएको छ ।
चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्र गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोडिने अध्यक्ष दिनेश लामाले बताउनुभयो । यस्तै बेथानचोकमा अवरुद्ध सडक खुलाउन जनप्रतिनिधिहरु सक्रिय भएका छन् । गाउँपालिका कार्यालयबाट अरु वडा जोडिने सडकलाई खुलाउन आवश्यक मेसिनहरु प्रयोग भइरहेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो ।