
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झन्डै पाँच हजार ७०० कैदी अझै फरार छन् ।
देशभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये अहिलेसम्म आठ हजार ५१० कैदी र तीन सय ४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले गएको असोज १० गते फरार कैदीबन्दीलाई हिजोसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ ।
अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन् । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो ।
७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पूर्वी रुकुममा कारागार छैन् ।